Wednesday, December 22, 2010

नेपालीलाई के को प्लेजिअरिज्म ?

आज नेपाली संस्करणको अनलाइन न्यूज पोर्टलमा एउटा समाचार पढ्न पाइयो | नेपाली वृतचित्र निर्माता तुलसी भण्डारी प्रतिलिपि अधिकार मिचेको कारणले पक्राउमा परेछ | उसले अर्काको वृतचित्र "आन्दोलन जारी" र "झलक" बाट ३ मिनेट लामो श्रब्य-दृश्य विना अनुमति निकालेर आफ्नो वृतचित्र "एभरेस्टको फेदीमा, नेपालको पुनर्जन्म" मा घुसाएछ | अनि त त्यो अर्काको सिर्जना पनि आफ्नै भैगो | फेरि त्यो वृतचित्रले पनि देश-विदेशमा प्रदर्शन भैसकेको रहेछ | अझ अमेरिकामा वृतचित्र प्रतियोगितामा भाग लिएर पुरस्कार हत्याउन सम्म भ्याएको रहेछ नि ! पछि भण्डारीलाई उसकै वृतचित्र प्रचार-प्रसार मोर्चामा सघाउने एक जना स्वयमसेवकले गएर अर्का निर्माता-निर्देशक तथा पत्रकार अजय सिवाकोटिलाई भनेछ | सुनेर ऊ पनि जिल्ल खाएछ | आफ्नै सिर्जना चोरिएको पनि उसले चाल नपाएर नेपालमा प्रदर्शन पछि अरु कसैले भनेर मात्र थाहा पाएछ | पछि दुइजनाको बिचमा कुरा हुँदा भण्डारीले सिवाकोटीलाई क्षतिपूर्ति तिर्न मानेन | उल्टै उसले प्रहरीमा उजुरी गरेछ | पछि त आफै फसेछ नि ! कारण भने "प्लेजिअरिज्म" गरेको रे !

हाम्रो देशमा जे पनि चोरेर नै पाइने ठाउँ हो | चोर्यो, काम चलायो | परिक्षामा चोर्यो, पास भैगयो | कार्यालयको सामाग्री चोर्यो, घरमा काम चलिगो | सरकारी कार्यालयमा बेटाइममा पुग्यो, हाजिरी पुस्तिकामा सहि टाइम जनायो, मासिक तलब पूर्णरूपमा बुझ्यो, घरको गर्जो तरिगो | सवारी साधन मर्मत गर्न लग्यो, त्यहाँ पनि तेल चोर्यो, उसलाई घर जान-आउन र केटि घुमाउन इन्धन पुगीगो | घरमा धारोमा पानी पनि मिटरमा पानी नचढ्दै टि एउटा हाल्यो, साबिक मासिक दरमा घरको इनार नै भरिगो | बत्तिको पनि हाल उही हो | अब यस्तै खाले समाजमा जन्मे पछि त आनी-बानि पनि त्यहि नै त हुने भो | केहि सामान टिप्यो, देख्यो भने जिस्केको रे, देखेन भने बोकेर हिंड्यो | अर्काको सिर्जना त्यति बेला चोरिन्छ जब आफूसंग भएको सिर्जना सिद्धिन्छ | अर्को शब्दमा भन्नुपर्दा, आफू असक्षम र सिर्जनारहित भएर नै अर्काको चोर्ने हो |

अघि नै भनेनी मैले, हाम्रो नेपालमा सबै चोरेरै काम चल्छ | विश्वविद्दालयमा ५००-१००० रुपियाँको भाउमा अर्काको थिसस किनेर त्यसलाई फोटोकपी गरेर कभर पेजमात्र फेरेर आफ्नो बनाइ स्नातक होस् वा स्नातकोत्तर उतिर्ण भएको प्रमाणपत्र पाउछ | क्या काइदा छ बा ! न परिश्रम गरेर सोधपत्र तयार पार्ने दु:ख र झन्झट उठाउनुपर्यो न त आफू र सम्पादकलाई चित्त नबुझुन्जेल शब्द छाँटकाँट गरि दिमाग दुखाउनुपर्यो ! मोज छ ! अनि यसरि नै आउने हाम्रा कति बन्धुहरुलाई अर्काको सिर्जनालाई आफ्नो भन्ने हकमा नैतिकता त उसको लागि ट्वाइलेट पपेर बराबर हुने नै भयो | बरु हामी देख्ने-सुन्नेलाई भने के के जाति उखान जस्तै "... लाई भन्दा, देख्नेलाई लाज" भने जस्तै हुन्छ |

अर्को कुरा, हाम्रो त्यत्रो ठुलो त्रिभुवन विश्वविद्दयालयमा अहिले पनि उही बाजेको पालोमा झैँ शिक्षानीति छ | शिक्षा उही छ, प्राध्यापक उही अपडेट गर्न नसकेका सफ्टवयरजस्ता छन् | समय कहाँबाट कहाँ पुगिसक्यो, पढाई गर्ने पुस्तक सामाग्री भने उही २०४६ सालकै जनआन्दोलनताकाका चलाईरहेछन् | प्रशासन उस्तै छ | शिक्षालाई कसरि चुस्त र अन्तराष्ट्रिय गुणस्तरको बनाउने भन्ने कुरा सोच्ने फुर्सत पनि भएको हो कि होइन ! उनीहरुले विद्यार्थीबाट बुझिलिने थिसस तथा अन्य सोधपत्र कति सम्मको नक्कल वा प्रतिलिपि हो, जाँच्ने निकाय पनि छ कि छैन ? विध्यावारिधि बाहेक अरुको त खासै ध्यान दिएर हेर्दैन भन्ने मलाई लागेको छ | यसरि प्रोत्साहन दिएको छ भने त, त्यो भण्डारीले सिवाकोटीको सिर्जनालाई आफ्नै भनि संसारलाई देखाउनुमा कुनै अचम्म मानुपर्ने देखिनं | उसले पनि हाम्रै नेपालमै पढेको भए, माथि उल्लेखित प्रवृतिसंग राम्रै परिचित नै होला |

यहाँ यस्ता धेरै जना छन् जो अरुको सिर्जनालाई हुबहु उतार्ने वा तोडमोड गर्ने, अनि आफ्नो भनि दावी गर्ने विद्वानहरुको त जमात नै छ | यस्ता बौद्धिक बेईमानहरूलाई न लाज छ न त शरम | तेजस्वी अनि मेधावी बिद्धार्थी, पछि समाजसेवी वा अब्बल प्रशासक आदि-इत्यादि त्येहि केहि हजारको थिससले नै उसलाई बनाएको हुन्छ | त्यसैले उसको सिर्जनालाई हेर्ने दृष्टिकोण पनि उही "काम गर्यो पैसा कमायो" जसरि नै हेर्ने हो | पैसा त जे काम गर्दा नि आउँछ तर सिर्जना त पैसाले पनि फुर्दैन | त्यो त सिर्जनसिल क्षमतामा भरपर्ने कुरा हो | खोइ कुरा बुझ्या साथी ?

आफ्नो सिर्जना चोरी हुँदा धेरै नै मन दुख्छ | मेरो पनि मन दुखेको छ | मैले परिश्रम गरि खिचेका तस्बिरहरू एउटा साथीको भाइको कम्प्युटरमा देख्दा मेरो मन पनि चसक्क दुखेको थियो | मैले खिचेका सम्पूर्ण तस्बिर नै हात पारेर त्यसरी कम्प्युटरमा राखिएको बारेमा मैले सोध्दा, उल्टै उसको साथीले खिचेको भनि जवाफ पाउँदा मेरो मनलाई नराम्रोसित ठेस लागेको थियो |  त्यसैले तपाईंलाई कसैको सिर्जना राम्रो लागे, एकफेर सोध्नुस् न सम्बन्धित व्यक्तिसँग कि तपाईंले उसको सिर्जनालाई प्रयोग गर्न सकिन्छ कि भनेर | सोधेर के बिग्रिन्छ ? कसैले प्रतिलिपि अधिकार सुरक्षित नगरेको सामाग्री राम्रो लाग्यो भने पनि, आफूले प्रयोग गर्दा सम्बन्धित व्यक्तिलाई साभार प्रकट गरिएको वा सो सामाग्री कहाँ र कसको हो भन्ने व्यहोरा खुलाएर हामी हाम्रा पाठकहरूलाई थाहा दिउँन |

1 comment:

  1. [...] पोष्ट “नेपालीलाई के को प्लेजिअरिज्म?” मा मैले दुइजना वृतचित्र निर्माताको [...]

    ReplyDelete